प्रेमीसँगको पहिलो रात - भाग २

  • काठमाडौं ।

त्यो रात फेसबुक च्याटबाट वैशको भेल पठाउदै मेरो अस्मिता लुटेर उ एकाएक गायब भएपछि म अाफु सम्हालिन धेरै समय खेर फालेकी छु । मेरा कयौं सपनाहरु भताभुङ्ग भएका छन् । के मैले उसलाई खोज्ने प्रयास नगरेको हो र ? के अरु सबै काम छोडेर उसको फेसबुक प्रोफाइल ननियालेको कुनै दिन थियो र ? उसलाई अरुसँग नै जीवन बिताउन मन थियो भने पनि त मलाई भन्नुसक्नु पर्थ्यो । म उसलाई हाँसीहाँसी बिदा गर्थे, उसको खुसीका निम्ति, आफ्नो मुटुमा ढुंगा राखेर ।

ठिक साढे ६ बर्षपहिले उ फेसबुक म्यासेन्जरबाट जसरी एकाएक गायब भएको थियो, आज ठिक त्यसरी नै एकाएक फेसबुक कमेन्टमा देखा पर्यो । यतिका बर्षपछि अचानक उसको फेसबुक सक्रिय भएको देखेर म खुसी हुनु या दुखि ? छुट्याउन सकिन । आज पनि त्यही रात सम्झेर उसको वियोगमा रित्तिएकी मैले फेसबुकमा लेखेकी थिए – " कति पोखु भावना...जसको निम्ति शब्द खोजीखोजी लेख्थे, आज उसैले रित्त्याएको छ मलाई..." अपुरो वाक्य फुरेको थियो यो अपरिपक्व माइन्डमा । पोस्ट गरे, १२ औं नम्बरमा उसले कमेन्ट गरेको रैछ ५१ मिनेट अगाडी । 

"मलाइ नसोध कति माया गर्छौ भनेर, तिम्रा यादहरुमा बगेका अश्रुधाराले निथ्रुक्क भिजेको मेरो सिरानी हेर, सबै उत्तर त्यसैमा पाउने छौ ।" एउटा सिरानीसंगै लेखिएको यो कमेन्ट देखेर खपिनसक्नु भयो । माया रत्तिभर लागेन, मात्र आवेग र क्रोधले नियन्त्रण गुमाएछु क्यारे । यतिका बर्ष बिभिन्न बहाना बनाउदै काबुमा राखेको यो मन उसको त्यो कमेन्ट पढेर तितरवितर भयो । हातखुट्टा लगलग काप्न थाले । पुरै जिउ लल्याक लुलुक्क भयो । उसले भन्न खोजेको के हो ? कसरी बुझौं म उसको त्यो कथनलाई ? मलाई एउटा सूचनासम्म पठाउन नसक्नेगरी उसलाई त्यस्तो कुनै बाध्यता आइलागेको थियो र ? या आज त्यहि नाटक दोहोर्याउन उ कुनै सडयन्त्र रच्दै छ ? आखिर के चाहन्छ उ ? मन नमज्जासँग रन्थनियो । 

अब म उसलाई वास्ता नै गर्दिन । को हो र उ मेरो ? आजसम्म एकपटक देखे भेटेको त् छैन, जाबो फेसबुकमा गफ गरेको भरमा उसको प्रेममा पागल हुनुपर्छ भन्ने के छ ? चिन्दिन म उसलाई, उसँग मेरो कुनै सम्बन्ध छैन । जेसुकै कमेन्ट गरोस, म उसलाई साढे ६ बर्षपछि छोडेर यहाँ आइपुगिसके । अब म यो फेसबुक चलाउदिन । यो फेसबुक एकाउन्ट डिसेबल गर्छु । बरु अर्को बनाउँला । तत्काल मैले सोचे..

छुट्टिएको बर्षौ भैसक्दा पनि अघि भर्खरैसम्म उसगँको मिलनको कल्पना गर्दै त्यो स्टाटस लेखेको यो मनले कमेन्ट पढेपछि ठिक विपरीत डिसिजन गर्यो । मानौं कुनै ठुलो भयानक दुर्घटनासँग सामना गर्नुपर्छ जस्तो गरी तर्सियो मन । उसले बोलेका प्रत्येक शब्दहरुमा प्रेम मिसिएको महसुस गर्ने यो मुटु किन वर्षौंपछि उसले मेरोलागि बोलेको प्रेमिल वाक्यलाई बाण सम्झियो ? छुट्याउन सकिन .. 

कम्प्युटरको माउस फेसबुक सेटिंग हुदै एकाउन्ट म्यानेजमा पुगेर टक्क अडियो । कारण च्याटबक्समा फेरी उसको म्यासेज देखियो । " नम्बर देउ न प्लिज !" 

रिप्लाई दिउँ या नदिउ ? सोच्न नभ्याउदै अर्को म्यासेज आयो – " सुनिनौ ?" फेरी.. "हेल्लो काली?'' 

हतार हतार म्यासेजको रिप्लाई माग्ने उसको बानी अझै गएको रहेनछ । कम्प्युटरको स्क्रिन धमिलो बन्दै गयो, किबोर्डमा तप्प २ थोपा टिलिक्क खसेपछि थाहा भयो, सायद म रोएछु । रिप्लाई दिन मन लागेन । 

"तिम्रो नम्बरमा मैले कति ट्राइ गरे, किन फोन लाग्दैन ।" 

उसले हक जताउदै अर्को म्यासेज पठायो – "नम्बर चेन्ज गरेकी हौ र ?'' तिमीलाई किन चाहियो ? म जेसुकै गरुँ ? यति लेख्ने मन थियो तर अझै लेखिन । औंलाहरु किबोर्डसम्म पुगे तर टाइप गर्न मानेनन् । 

"समय र परिस्थितीले जति नै टाढा बनाए पनि मनस्थितीले कहिल्यै टाढा बनाउन सकेन तिमिलाई, माफ गर । नसताउ बोल ।" उसले स्टाटस लेख्यो । अब भने डाँको छोडेर रुन खोजे तर सकिन । आवाज नै निस्कन सकेन । तर उसलाई रिप्लाई दिने हिम्मत पनि जुटाउन सकिन । एउटा त्यो रात थियो, जुन रात मैले तिमीलाई निर्धक्क भएर कुनै संकाबिना सर्वश्व सुम्पेकी थिए, र एउटा रात यो छ, आजको रात । तिम्रो आगमनको रात तर म खुसी छैन । तिम्रा बारे जान्न या बुझ्न नै मन छैन आज । अघि भर्खरैसम्म पनि तिम्रो अभावमा जलिरहेको यो मुटु अहिले भने तिम्रो आगमन स्वीकार गर्न सकिरहेको छैन । 

"मलाई कुर्न जस्तो अल्छि अरु केहि पनि लाग्दैन, चाहे त्यो बस स्टपमा गाडि होस या फेसबुकमा तिम्रो रीप्लाई ।" उसले वर्षौंपहिले भनेको कुरा झल्याँस्स सम्झीए । भन्न मन लाग्ये, अनुमतिबिना सुटुक्क मेरो जिन्दगीमा घुस्यौ, आखिर लुटेरा नै रहेछौ नी । मेरो सर्वश्व लुटेर भाग्यौ, तर भनिन । 

झोक चल्यो उसलाई ट्याग गरेर स्टाटस लेखे – "साच्चै मिठो सपनाजस्तै थियो तिम्रो माया, त्यसैले होला बिहानीसँगै उडेर गयो । अब त्यस्ता 'घोस्ट' सपना देख्न चाहान्न.......।" सुरुमा उसैले लाईक गर्यो । 

'हरेक साँझ एउटा कथाको अन्त्य भएसँगै हरेक बिहान अर्को नयाँ युगको थालनी हुन्छ । हिँड्ने बाटाहरु हरेक दिन बदलीरहन्छ तर गन्तव्य भने सँधै उही पुरानो नै हुन्छ । अर्थात् .... ।' उसले वाक्य पुरा नगरीकनै टुंग्यायो । अब भने फेसबुकमा स्टाटस दोहोरि चल्न सुरु भयो । उसको कमेन्टको रिप्लाई दिन पनि मन लागेन । तर प्रोफाइल हेर्न आँट गरे । हेर्दै जाँदा एउटा ३ बर्ष अघि पोस्ट गरिएको एउटा तस्वीर देखे । जुन तस्वीर देखेर म छाँगाबाट खसेजस्तै भए । 

उसले लेखेको थियो - "प्रिय छोरी 'अनु' तिमीलाई जन्मदिनको लाखौंलाख शुभकामना ! अनि तिम्री मामु अर्थात् मेरी प्रियसीलाई यो प्रणय दिवसको शुभकामना" । तिम्रो चौथो जन्मदिन र हाम्रो तेस्रो प्रेम दिवस संयोगले आज एकैदिन परेछ ।....." बस.... यो के हुदैछ जीवनमा ? सायद यहि कुरा देख्न बाकी थियो र उ फिर्ता आएको हो ?अब सबैकुरा सकियो । आज बारम्बार आफैले आफलाई कोच्दै छु म । आखिर प्रेमले लेपन गरिएको स्वार्थलाई आँखा चिम्लेर अङ्गाल्न खोज्नु नै मेरो गल्ती थियो । हाम्रो सम्बन्ध बचपनमा खेलेको भाडाकुटि जस्तै भएछ । न कुनै सत्यता, न त कुनै विश्वासको स्तम्भ, बस् केहि बेरको क्षणिक आनन्द मात्र.... 

एकातिरबाट बल्ल मिलाए भनेर एकरत्ति आत्मसन्तुष्टि लिन नपाउदै अर्कोतिरबाट भत्किदै जाने, साच्चै वालुवाको घर भन्दा कम रहेन्छ तिम्रो माया...
क्रमसः
यो कथाको पहिलो भाग पढ्नुहोस्- प्रेमीसँगको पहिलो रात

२०७४ असार ४ मा प्रकाशित ।

हामीलाई फलो गर्नुहोस  


,

प्रतिकृया दिनुहोस्

Loading...